|  

‘वाद-प्रतिवाद छाडेर सरकार राष्ट्र निर्माणमा लागोस्’- एमाले सांसद देवकोटा

३१ भदाै, काठमाडाैं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादभन्दा काम र परिणाममा केन्द्रित हुन आग्रह गरेका छन् । 

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनदेखि पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कुटनीतिसम्म सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन् । देवकोटाले आविष्कार केन्द्रका प्रमुख आविष्कारकसमेत रहेका मन्त्री पुनको थकान र निराशाजस्तो देखिएको अवस्थाप्रति आफूलाई दुःख लागेको बताउँदै सामाजिक सञ्जालमा प्रतिवाद गर्नुभन्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आविष्कारमा ऊर्जा लगाउन सुझाव दिए । उनले गृहमन्त्रीले पनि भाषण र प्रतिवादभन्दा हत्या, हिंसा र आतङ्क अन्त्य गर्ने काममा ध्यान दिनुपर्ने बताए । ‘गृहमन्त्री साच्चै देशको अभिभावक बन्नुपर्छ’ भन्ने धारणा राख्दै उनले सरकारका मन्त्रीहरूलाई आफ्नो जिम्मेवारीअनुसार परिणाममुखी काम गर्न आग्रह गरे ।

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट भएको क्षतिपछि अब हुने पुनर्निर्माणमा विगतका कमजोरीबाट सिक्नुपर्ने देवकोटाको भनाइ छ । नदी करिडोर तथा नदी किनारमा ठूला संरचना र बस्ती विकास गर्दा भौगोलिक जोखिमलाई पर्याप्त ध्यान नदिइएको हुनसक्ने उनले बताए । उनले अब पुनर्निर्माण गर्दा नेपालको भौगोलिक विविधता र जोखिमलाई ध्यानमा राख्दै मध्यपहाडी क्षेत्रमा ऊर्जा तथा भौतिक पूर्वाधार विकासको सम्भावनालाई प्राथमिकतामा राखेर सोच्नुपर्ने बताए । देवकोटाले मुलुकमा देखिएको वस्तु अभाव र मूल्यवृद्धिलाई राजनीतिक आरोप–प्रत्यारोपबाट समाधान गर्न नसकिने बताए ।

सरकारले आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउँदै कालोबजारी नियन्त्रण र जनतालाई सहज जीवनयापनको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । उनले पुनर्निर्माणमा देशभित्र उपलब्ध विशेषज्ञ तथा दक्ष जनशक्तिको अधिकतम उपयोग गर्न सरकारलाई आग्रह गरिन्। सरकार र राजनीतिक दलहरूले ‘सानो मन’ नराखी सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्ने बताउँदै उनले संसद्लाई आलोचना र वाद-प्रतिवादको मञ्चभन्दा जनताको आवाज र राष्ट्र निर्माणमा केन्द्रित गर्ने फोरम बनाउनुपर्ने बताए । –न्युज एजेन्सी नेपाल