|  

भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

३१ भदाै,काठमाडाैं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिएका छन् । परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । परराष्ट्रमन्त्री खनालले नेपाल-भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गरेका छन् ।

यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज,उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गरेका छन् । मन्त्री खनालले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहिरहने विश्वास व्यक्त गरेका छन् । भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गरे। उनले आगामी दिनमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।