|  

लाङटाङ विपद्पछि हिन्दुकुश हिमालयमा पूर्वसूचना प्रणाली बलियो बनाउने बैठक

०१ असाेज, काठमाडाैं । लाङटाङ लिरुङको आइस-रक एभलान्च र त्यसपछि आएको रसुवा-भोटेकोशी बाढीपछि हिन्दुकुश हिमालय क्षेत्रमा सम्भावित हिमाली विपद्को जोखिम पहिचान, निगरानी र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन काठमाडौंमा तीनदिने उच्चस्तरीय बैठक आयोजना गरिएको छ।

इसिमोड र नेपाल सरकारको आयोजनामा तथा स्विट्जरल्यान्ड दूतावासको सहयोगमा १५-१७ सेप्टेम्बर सम्म भएको बैठकमा नेपालसहित बंगलादेश, भुटान, चीन, भारत र पाकिस्तानका सरकारी अधिकारी, हिममण्डल विज्ञ तथा विकास साझेदार गरी ८० भन्दा बढी सहभागी छन्। बैठकमा लिरुङ घटनाको पुनर्निर्माण, जोखिम मूल्यांकन, पूर्वसूचना प्रणालीका कमजोरी र भविष्यमा यस्ता विपद् रोकथाम तथा क्षति न्यूनीकरणका उपायबारे छलफल भइरहेको छ। इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले घटनालाई उत्पत्तिस्थलका आधारमा ‘लिरुङ आइस-रक एभलान्च’ नाम दिन प्रस्ताव गरेका छन्।

हिमाली क्षेत्रमा बढ्दो तापक्रमसँगै हिमपहिरो, हिमताल विस्फोट र बरफ-चट्टानजन्य विपद्को जोखिम बढेकाले सीमापार क्षेत्रीय सहकार्य आवश्यक रहेको बैठकले जोड दिएको छ। बैठकबाट हिन्दुकुश हिमालयमा ‘क्यास्केडिङ माउन्टेन रिस्क’ व्यवस्थापनका लागि संयुक्त कार्ययोजना तयार गर्ने तयारी छ।यसमा उच्च जोखिम क्षेत्र पहिचान, नियमित निगरानी, जोखिम पूर्वानुमान र समयमै सूचना प्रवाहका उपाय समेटिनेछन्।