|  

कांग्रेसका दुवै महाधिवेशन रोक्दै समझदारी खोज्न शेखर कोइरालाको आग्रह

०१ असाेज,काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट अघि बढाइएका दुवै महाधिवेशन रोक्नुपर्ने बताएका छन्।

पार्टीको आन्तरिक विवाद र प्रस्तावित दुई महाधिवेशनबारे बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले महाधिवेशनको विवादले कांग्रेसको आन्तरिक एकतासँगै राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने बताएका हुन्। उनले दुवै पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाउनुको सट्टा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा जोड दिएका छन्। ‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ उनले भनेका छन्, ‘यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं।’ कोइरालाले पार्टीभित्रको समस्या समाधानका लागि आफूले विगतमा पनि समझदारीको प्रयास गरेको र अहिले पनि त्यही दिशामा लागिरहने बताएका छन्।

उनले मध्यमार्ग अपनाउनु कठिन भए पनि कांग्रेसका लागि यही बाटो उपयुक्त रहेको दाबी गरेका छन्। उनका अनुसार कांग्रेसको मूल चरित्र नै सहमति र लोकतान्त्रिक अभ्यासमा आधारित भएकाले पार्टीलाई विवादभन्दा समझदारीतर्फ लैजान आवश्यक छ। आफूमाथि विभिन्न आरोप लागिरहेको उल्लेख गर्दै कोइरालाले आफू भने कांग्रेस र मुलुकको लोकतन्त्र सफल भएको हेर्न चाहने ‘सिपाही’का रूपमा सक्रिय रहने बताएका छन्।