०१ असाेज, काठमाडाैं । हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय क्षेत्रमा दुई गणाले तापक्रम बृद्धि भईरहेको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र पस्तुत गर्दै उनले हिमालया क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा उच्च रहेको बताएका हुन् । यसको प्रत्यक्ष असर हिमनदी तथा हिमतालमा देखिन थालेको उनले बताए । उनले हिन्दुकुश-हिमालय क्षेत्र जलबायू परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरे ।
नेपाल हिन्दुकुश-हिमालय क्षेत्रको महत्वपूर्ण भूभागमा पर्ने भएकाले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा प्रभावित हुने उनको भनाई छ । उनका अनुसार हिन्दुकुश-हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिको तुलनामा करिब दोब्बर दरमा तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन् । यो क्षेत्रमा प्रतिवर्ष शुन्य दशमलव ४२ डिग्री सेल्सियसले तापक्रम वृद्धि भईरहेको उनको भनाई छ । नेपालभित्र पनि औसत तापक्रम निरन्तर बढिरहेको उनले बताए । उनका अनुसार देशभरको औसत तापक्रम प्रतिवर्ष करिव शुन्य दशमलव ०४ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ । तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल र हिमनदीमा परेको उनको भनाई छ । तापक्रम वृद्धिले हिमनदी संकुचित हुँदै गएको र अर्कोतर्फ हिउ पग्लिएर हिमतालको संख्या र क्षेत्रफल बढ्दै गएको उनको भनाई छ । उनले सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमतालको उदाहरण प्रश्तुत गर्दै सन् १९५० आसपाससम्म त्यो क्षेत्रमा ताल नै रहेको बताए । तर, बढ्दो तापक्रमले साना-साना पोखरीहरू बन्न थालेको र ती क्रमशः जोडिँदै ठूलो हिमतालमा परिणत भएको उनको भनाई छ । हिमताल बन्न थालेपछि हिमनदीहरु विस्तारै साँघुरिँदै गएको उनको भनाई छ । उनले हिमनदीमा परेको असरले नेपालका नदी प्रणालीमा समेत प्रभाव पार्ने बताए । उनले भने,‘नेपालको पूरै भूभाग हिमालय क्षेत्रभित्र पर्छ । अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान र म्यानमारसम्म फैलिएको हिन्दुकुश-हिमालय क्षेत्रमा हाम्रो देश पर्छ । हिमाली क्षेत्र र तिब्बती पठारमा विश्वव्यापी औसत तापक्रम वृद्धिको तुलनामा करिव दुई गुणाले तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन् । त्यो वृद्धि प्रतिवर्ष करिब ०.४२ डिग्री सेल्सियस रहेको अध्ययनहरूले देखाएका छन् । सन् १९८० देखि २०१८ सम्मको अध्ययनमा पनि यस्तो तापक्रम वृद्धिको तथ्य देखिन्छ । तिब्बती पठारसम्बन्धी सन् २०२२ को याओ एट अल.को अध्ययनमा पनि यो विषय उल्लेख गरिएको छ । नेपालभरि पनि तापक्रम वृद्धि भइरहेको छ । नेपालको औसत तापक्रम प्रतिवर्ष करिब ०.०४ डिग्री सेल्सियसले बढिरहेको छ । जाडो होस् वा गर्मी, सबै मौसमलाई समेटेर हेर्दा देशको औसत तापक्रम निरन्तर बढिरहेको छ । यसले विभिन्न परिवर्तन ल्याउँछ, हिमाली क्षेत्रमा हुने प्रमुख परिवर्तनहरु हिमनदीहरू संकुचित हुँदै जानु, पग्लिनु हो भने अर्कोतर्फ हिमतालहरू बन्ने र तिनको क्षेत्रफल बढ्दै जाने क्रम देखिन्छ । हिमनदीहरूको आफ्नै गति हुन्छ । हामी एक ठाउँबाट हिँडेर अर्को ठाउँमा पुग्छौँ, तर हिमनदी त्यहीँ रहेको जस्तो देखिएपनि वास्तवमा निरन्तर बगिरहेको हुन्छ । माथिल्लो भागबाट बरफ बग्दै आउँछ र तल टर्मिनसमा पुग्दा त्यसको गति शुन्य हुन्छ । अर्थात हिमनदी आफैँभित्र निरन्तर गतिशील हुन्छ । हिमनदीको गतिमा पनि जलवायु परिवर्तनले असर गर्छ । हिमनदीको गति कति छ भन्ने मापन त्यसको स्वास्थ्य अवस्था कस्तो छ भन्ने बुझ्ने एउटा महत्वपूर्ण सूचक हो । हिमनदीको गति नहुने हो भने नदी प्रणालीमा पनि असर पर्छ । चापका कारण हिमनदी बग्छ र चट्टान तथा बरफबीचको घर्षणबाट हिउँ पग्लिने प्रक्रियाले नदी बन्ने हुन् ।’
उनले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी तथा जलवायुजन्य घटनाको जोखिम पनि बढिरहेको बताए । उनले चट्याङको घटनासमेत जलवायु परिवर्तनसँग जोडिएको उल्लेख गर्दै चट्याङका घटनामा पनि २० प्रतिशत वृद्धि देखिएको बताए । नेपालले हिमनदी, हिमताल र चरम मौसमी घटनाबाट उत्पन्न जोखिमलाई समग्र रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । जलवायू परिवर्तनका लगायतका हुने कुनैपनि विपद्ले सबैभन्दा बढी प्रभावका कमजोर वर्गलाई पार्ने गरेको उनले बताएका छन् । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar