०२ असाेज, काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि (एआरटी), आईयूआई, आईभीएफ तथा सरोगेसीलाई स्पष्ट कानूनी दायरामा ल्याउन सरकारले चालु आर्थिक वर्ष २०८३/८४ भित्रै विधेयक संघीय संसदमा पेश गर्ने प्रतिवद्धता जनाएकी छन् ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माणसम्बन्धी संकल्प प्रश्ताव’ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आईभीएफ तथा सरोगेसीसम्बन्धी छुट्टै र स्पष्ट कानूनी संरचना आवश्यक रहेको बताएकी हुन् ।उनकाअनुसार मन्त्रालयले यस विषयमा विज्ञ, चिकित्सक, कानूनविद् तथा सरोकारवालासँग छलफल गरिरहेको छ । आईभीएफ र सरोगेसी फरक प्रकृतिका विषय भएकाले दुवैलाई एउटै ढाँचाबाट नियमन गर्न उपयुक्त नहुने मन्त्रालयको धारणा रहेको उनले स्पष्ट पारे । मन्त्री मेहताले आवश्यक कानूनी, प्राविधिक, चिकित्सकीय, नैतिक तथा नियामक पक्ष समेटेर आईभीएफ तथा सरोगेसीसम्बन्धी अवधारणा पत्र तयार गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए । अवधारणा पत्र राय-सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको र विधेयकको मस्यौदा तर्जुमा प्रक्रिया समेत शुरु भइसकेको उनले बताए । उनले सहायक प्रजनन प्रविधिको विकाससँगै यसको दुरुपयोग, अनावश्यक व्यवसायीकरण, अनावश्यक उपचार तथा सेवाग्राहीमाथि पर्ने आर्थिक र मानसिक भारलाई समेत सम्बोधन गर्नुपर्ने बताए ।
कुन सेवा कसले, कुन मापदण्डमा र कुन सीमाभित्र सञ्चालन गर्न पाउने भन्ने विषय कानूनमै स्पष्ट गरिने उनको भनाइ छ । मन्त्री मेहताले आईभीएफलाई हरेक अवस्थामा पहिलो विकल्पका रूपमा लिन नहुनेमा समेत जोड दिए । निःसन्तानपनको कारण, चिकित्सकीय आवश्यकता र विज्ञको परामर्शका आधारमा अन्य उपचारबाट समाधान सम्भव नभएको अवस्थामा मात्रै आईभीएफ आवश्यक हुन सक्ने उनको भनाइ छ । उनले सेवाग्राहीलाई आईभीएफको आवश्यकता, सम्भावना, सीमितता, जोखिम, खर्च तथा वैकल्पिक उपचारका विषयमा वैज्ञानिक र तथ्यमा आधारित सूचना उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको बताए ।
संकल्प प्रश्ताव सर्वसम्मत पारित
राष्ट्रिय सभामा सांसद मदनकुमारी साह प्रश्तावक तथा कमलादेवी पन्त, झक्कुप्रसाद सुवेदी, प्रेमप्रसाद दंगाल, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, खम्मबहादुर खाती र डा. अञ्जना शाक्य समर्थक रहेको संकल्प प्रश्तावमाथि छलफल भएको थियो । छलफलपछि ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माणसम्बन्धी संकल्प प्रश्ताव’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । सभाले संकल्प प्रश्तावमा उल्लेखित विषय कार्यान्वयनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले व्यक्त गरेको प्रतिवद्धतासमेतका आधारमा प्राथमिकताका साथ काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । साथै, कार्यान्वयनको प्रगति प्रत्येक तीन महिनामा राष्ट्रिय सभासमक्ष पठाउन र संकल्प प्रश्ताव कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिइएको छ । यससँगै सरकारले आईभीएफ तथा सरोगेसीसम्बन्धी स्पष्ट कानूनी व्यवस्था निर्माणका लागि विधेयक अघि बढाउने प्रक्रिया औपचारिक रूपमा अगाडि सारेको छ ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar