०२ असाेज, काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले जेन-जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री साहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालकाअनुसार प्रधानमन्त्रीले जेन–जी सांसदहरूले डिजिटलाइजेसन, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र जेन–जी सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताएका थिए ।
अन्तरक्रियामा प्रधानमन्त्रीले राजनीतिलाई मात्र पेशा नबनाई सांसदहरूले आफ्नो छुट्टै व्यवसाय वा पेशागत आधारसमेत निर्माण गर्नुपर्ने धारणा राखेको रास्वपाका सांसद केपी खनालले बताउनु भयाो । उहाँकाअनुसार प्रधानमन्त्रीले जेनजी पुस्ताका सांसदसहित युवाहरूलाई उद्यमशीलतामा जोडिन र ‘साइड बिजनेस’ मार्फत आत्मनिर्भर बन्न प्रोत्साहित गरेका थिए । स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रबारे पनि छलफल भएको थियो । नेपालमा आईटी व्यवसाय दर्ता र सञ्चालनका लागि सहज वातावरण निर्माण गर्नुपर्ने विषय सांसदहरूले उठाएका थिए । प्रधानमन्त्रीले नेपालमै व्यवसाय दर्ता गर्ने वातावरण बनाउन सरकार तयार रहेको र समस्या आए सरकारसँग सुझाव तथा समन्वय गर्न आग्रह गरेको सांसद खनालले बताउनु भयो ।
प्रधानमन्त्रीले जेन–जी पुस्ताका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । त्यसका लागि बैंकिङ कर्जा प्रक्रियालाई सहज बनाउने तथा नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको थियो ।
छलफलमा जेनजी आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा मृत्यु भएका व्यक्तिका विषय पनि उठाइएको सांसदहरूले बताएका छन् । सांसद खनालकाअनुसार आन्दोलनका क्रममा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालयअन्तर्गत अध्ययन समिति गठन भएको छ । समितिले मुद्दाहरूको वर्गीकरण गरी विद्यमान कानूनअनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढाउने विषयमा काम गरिरहेको उहाँले बताउनु भयो । तर गम्भीर प्रकृतिका अपराध, हातहतियार, ज्यानसम्बन्धी कसुर तथा लुटपाटलगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाइ छ । उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढाउने बताइएको छ ।
‘युवा मुद्दामा फरक ढंगले प्रश्तुत हुनुपर्छ’
सांसद खनालले प्रधानमन्त्रीले जेन–जी उमेर समूहका सांसदहरूबाट आफ्नै पुस्ताका मुद्दालाई फरक ढंगले संसदमा प्रश्तुत गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँकाअनुसार अहिले विद्यालय तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी, विदेशमा रहेका युवा, खेलकुद र कला क्षेत्रमा रहेका युवालगायतका समूहका समस्या र अपेक्षालाई संसदको मूल एजेण्डा बनाउनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ । अन्तरक्रियामा सहभागी सांसदहरूलाई प्रधानमन्त्रीले स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सांसदहरूलाई रचनात्मक आलोचना गर्न आग्रह
प्रधानमन्त्रीले सरकारका कामकारबाहीबारे सांसदहरूले रचनात्मक आलोचना तथा सुझाव दिनुपर्ने बताएको सांसदहरूले जानकारी दिएका छन् । समस्या देखिए त्यसको समाधानका लागि सरकारसँग समन्वय गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका थिए । रास्वपाका सांसद बब्लु गुप्ताकाअनुसार प्रधानमन्त्रीले संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा आफूले चासो राख्ने गरेको बताउनुभएको थियो । गुप्ताले सरकार सञ्चालनका क्रममा कमजोरी भए सच्याउँदै अघि बढ्ने प्रतिवद्धता आफूहरूले पनि व्यक्त गरेको बताउनु भयो ।
अन्तरक्रियामा प्रधानमन्त्रीले जेन–जी पुस्ताका सांसदहरूलाई अभिभावकीय मार्गदर्शनका रूपमा आफ्नै पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने र आत्मनिर्भर बन्ने अभियानमा लाग्न आग्रह गर्नुभएको थियो । सहभागी सांसदहरूले पनि त्यसलाई सकारात्मक रूपमा लिँदै युवा पुस्ताका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar