|  

प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस्

०२ असाेज, काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरु प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । 

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं श्रृङ्खला “हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताए । उनले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरु राख्न सुझाव दिए ।

उनले सिंगो देशको प्रतिनिधित्व हुनेगरी सबै नेपालीका भावनाको प्रतिनिधित्व गर्न सुझाव दिए । जलवायु परिवर्नतको असरका क्षेत्रमा अध्ययन गर्नेहरु धेरै रहेकाले उनीहरुको सुझाव लिएर प्रमाणसहित महासभामा प्रश्तुत हुन उनले आग्रह गरे । महासभामा नेपालले केका लागि आवाज उठाउने र केका लागि लड्ने भन्ने विषय स्पष्ट राख्नुपर्ने उनको सुझाव छ । सभापति थापाले भने,‘हामी सम्माननीय प्रधानमन्त्रीज्युलाई के भनिरहेका छाैँ । तपाईं हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ । यो भन्दा अगाडिका सरकारको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ । यो भन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ । सिंगो देशलाई प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ । यो बेलामा हाम्रो विश्वास छ, प्रधानमन्त्रीले हामी सबैको कुरा सुनिरहनुभएको छ । हाम्रो सुझाव पनि छ, यो क्षेत्रमा यति धेरै नेपाली साथीहरुले यसमा अध्ययन गर्नुभएको छ, काम गर्नुभएको छ । नेपालभित्रै हुनुहुन्छ । अध्येता, अध्यापन गराइरहनुभएको छ । हाम्रो सोर्स हो । महासभामा हामीले हाम्रो आफ्नो लागि लड्ने के हो ? विपद्को प्रभाव जुन ठाउँमा परेको छ, त्यस ठाउँमा तुरुन्तै बस्तीहरु बसाउने की नबसाउने ? भन्ने विषयदेखि लिएर हाम्रो संस्थालाई कसरी बलियो बनाउने भन्ने छ । जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राख्नुपर्छ । अनुमानका आधारमा नभइ प्रमाणका आधारमा राख्नुपर्छ ।’

सभापति थापाले नेपालले हरेक क्षेत्रमा जलवायुका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै अनुमानका आधारमा नभइ प्रमाणका आधारमा प्रश्तुत हुन सुझाव दिए । –न्युज एजेन्सी नेपाल