|  

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणमा नयाँ नेतृत्व

०२ असाेज,काठमाडाैं । सरकारले १३ देशका लागि नयाँ नेपाली राजदूत सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाउने निर्णय गरेको हो। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, अमेरिकाका लागि चिरनजंग थापासहित बेलायत, जर्मनी, इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि पनि राजदूत सिफारिस गरिएको छ। बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै नेपाल मौसम विज्ञान विभागलाई कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ल्याउने गरी कार्यविभाजन नियमावली संशोधन गरिएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय पनि भएको छ।