|  

संविधान चलाउने हात इमानदार भएनन् भने यो एउटा कागज मात्र बन्ने छः बालेन

३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले यो सरकार संविधानको अक्षर र भावना दुवैप्रति प्रतिबद्ध भएको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ ।’

तर, उनले संविधान कार्यान्वयन गर्नेहरू इमानदार नभए त्यो कागजमा मात्र सीमित हुने उल्लेख गरे। ‘एउटा कुरा हामीले कहिल्यै पनि बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्र बन्ने छ,’ शाहले भने, ‘म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन।’

शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने हात झन् बलियो भएको उल्लेख गरेका छन्। ‘भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर, यो जरो उखेल्ने हातहरू बलिया छन्,’ उनको भनाइ छ, ‘झन्, धेरै छन्। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ।’