|  

ओलीको आरोप : नेपाललाई ‘कुबाटो’ मा लैजान विभिन्न शक्ति सक्रिय छन्

०३ असाेज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गलत दिशातर्फ धकेल्ने प्रयासमा विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन्।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पछिल्लो समय यस्ता गतिविधि खुलेआम रूपमा भइरहेको दाबी गरे। उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमाथि समेत नेपालको निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाए। ओलीका अनुसार मौन अवधिमा बीबीसीले गलत सूचना सम्प्रेषण गरेर मतदातालाई अन्योलमा पार्ने र निर्वाचनमार्फत नेपाललाई गलत दिशातर्फ लैजाने प्रयास गरेको थियो। “मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्‍यो,” ओलीले भने। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लोकतान्त्रिक विधि, प्रक्रिया र संवैधानिक प्रणालीलाई कमजोर बनाउने उद्देश्यले गत वर्ष भदौ २३ र २४ गतेको घटनालाई ‘षडयन्त्रपूर्ण उपद्रव’ को संज्ञा दिए।

उनले उक्त घटनामा को-को संलग्न थिए भन्ने विषय क्रमशः बाहिर आउँदै गरेको दाबी गरे। घटनासँग जोडिएका व्यक्तिहरूले बोल्न थालेको, विभिन्न विवरण सार्वजनिक हुन थालेको र सञ्चारमाध्यममा समेत विषयहरू आउन थालेको उनको भनाइ थियो। ओलीले संविधान जारी भएयता मुलुकले राजनीतिक रूपमा अनेक चुनौती र उतारचढावको सामना गर्नुपरेको पनि बताए। लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र राजनीतिक प्रणालीलाई निरन्तरता दिन ठूला तथा निरन्तर चुनौतीहरू सामना गर्नुपरेको उनले उल्लेख गरे। “यसबीचमा लोकतन्त्रलाई सञ्चालन गर्न, रक्षा गर्न र अगाडि बढाउन हामीले ठूला चुनौतीहरूको सामना गर्‍यौं,” ओलीले भने, “निरन्तरका आक्रमणहरूको सामना गर्दै संविधानको रक्षा र कार्यान्वयन गर्दै गयौं।”

उनले संविधान दिवसलाई विगतका चुनौतीको समीक्षा गर्दै संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणप्रति प्रतिबद्धता दोहोर्‍याउने अवसरका रूपमा लिनुपर्ने बताए।