|  

विपद्मा पनि सेवा दिने डिजिटल प्रणाली आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

०४ असाेज, काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको डिजिटल रूपान्तरणलाई प्रविधि विस्तार र सरकारी सेवा आधुनिकीकरणमा मात्र सीमित नराखी विपद् तथा संकटका समयमा समेत प्रभावकारी हुने प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा बोल्दै उनले भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल र संस्थागत समन्वयको समेत परीक्षण गरेको बताए।मन्त्री तिमिल्सिनाले संकटका बेला भरपर्दो सूचना, सञ्चार र तथ्यांक अत्यावश्यक हुने भन्दै दिगो तथा उत्थानशील डिजिटल प्रणाली विकासलाई सरकारले प्राथमिकता दिएको जानकारी दिए। उनले डिजिटल शासनका लागि सूचना विश्वसनीयता, समावेशी कनेक्टिभिटी, सरकारी प्रणालीबीच अन्तरसञ्चालन, नागरिककेन्द्रित सेवा तथा कृत्रिम बौद्धिकता र तथ्यांकको जिम्मेवार प्रयोगलाई प्रमुख प्राथमिकता बनाउनुपर्ने बताए। गलत सूचना नियन्त्रण, विपद्का बेला प्रभावकारी सूचना सम्प्रेषण र अत्यावश्यक सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न डिजिटल प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको परियोजनाभन्दा शासन, विकास र राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै सरकार, निजी क्षेत्र, प्राज्ञिक समुदाय र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।