|  

काँग्रेसको आरोप–मुलुक विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा सञ्चालन भइरहेको छ

०५ असाेज, काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुनरसिंह केसीले सरकार निरङ्कुशउन्मुख भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालन भइरहेको आरोप पनि लगाए । उनले १० भदौको रसुवाको भोटेकोशी बाढीपीडित बिचल्लीमा परेको उल्लेख गरे । उनले बाढीपीडित नागरिकको को तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन तत्कबाल सार्वजनिक गरी कार्यान्वयन गर्न पनि माग गरे । उनले गत वर्षको २४ भदौमा भएको विध्वंशको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न समेत सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘नागरिकका समस्याप्रति जिम्मेवार हुनुपर्ने सरकार आफैं अल्मलिएको छ । रसुवा र नुवाकोटका बाढी पीडित नागरिक अझलै बिचल्लीमा छन् । चाडवाडको मुखमा अस्थायी पुनर्वासको सुरसार छैन । संसदीय विशेष समिति तत्काल गठन होस् । विधि, संस्था र पद्धतीभन्दा  व्यक्तित्व प्रभुत्वमा देश सञ्चालित भइरहेको छ । यो दुःखद् कुरा हो । २४ भाद्रको आम विध्वंसको छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल बनाइयोस् । सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो ? मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन लुकाउनु जनताको सुसूचित हुने अधिकारमाथिको आक्रमण हो । त्यति मात्र होइन अन्तर्राष्ट्रिय समूदायमा नेपालको बदनाम गर्नु पनि हो ।’

उनले जेन-जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वन नहुँदा अन्तर्राष्ट्रिस्तरमा समेत नेपाल बदनाम भएको टिप्पणी गरेका छन् । –न्युज एजेन्सी नेपाल