‘पार्टी पुनर्गठन लहडको विषय होइन’ : ओली
०५ असाेज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनलाई नै ‘पुनर्गठन’ का रूपमा व्याख्या गर्न नहुने बताएका छन्।
पार्टीको वर्तमान अवस्था, संगठनको आवश्यकता र राजनीतिक परिस्थितिलाई बेवास्ता गरेर नेतृत्व विस्थापन गर्ने बहस उचित नहुने उनको तर्क छ। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले पार्टी पुनर्गठन इतिहासका निश्चित संकट र बाध्यताबीच भएका संगठनात्मक कदमसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्। उनले अहिले पार्टी पुनर्गठनको नाममा भइरहेको बहसलाई त्यसैगरी बुझ्न नहुने धारणा राखेका छन्। ‘पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ?’
ओलीले एमालेको धारमा भएका प्रमुख पुनर्गठनका तीन घटनालाई अहिलेको बहससँग तुलना गरेका छन्। उनका अनुसार पहिलो पुनर्गठन तत्कालीन महासचिव केशरजंग रायमाझी राजतन्त्रको पक्षमा उभिएपछि पार्टीको आन्दोलन जोगाउन आवश्यक भएको थियो। २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि रायमाझीले त्यस कदमको समर्थन गरेको र पार्टीको केन्द्रीय नेतृत्वमा समेत उनको प्रभाव रहेको ओलीको प्रतिवेदनमा उल्लेख छ। २०१८ सालको दरभंगा प्लेनमबाट रायमाझी र उनको समूहलाई सच्याउन प्रयास गरिए पनि त्यो सफल नभएपछि अल्पमत पक्षले जोनल कमिटीमार्फत तेस्रो महाधिवेशन आयोजना गरी पार्टी पुनर्गठन गरेको ओलीले बताएका छन्। दोस्रो पुनर्गठनलाई उनले पार्टी संगठन नै अस्तव्यस्त र निष्क्रिय बन्दै अस्तित्वको संकटमा पुगेको अवस्थासँग जोडेका छन्। २०२७–०२८ सालतिर झापाबाट जनवादी गणतन्त्रको उद्देश्यसहित नयाँ राजनीतिक दिशा, संगठन निर्माण र एकताको प्रक्रियाबाट पुनर्गठन अघि बढाइएको उनको भनाइ छ। त्यसमा आफू पनि पहल र अगुवाइमा रहेको ओलीले बताएका छन्। झापा आन्दोलन हुँदै को–के, नेकपा (माले) र एमालेसम्म आइपुगेको राजनीतिक यात्रालाई उनले यही पुनर्गठनको परिणामका रूपमा प्रस्तुत गरेका छन्। तेस्रो पुनर्गठन भने २०७५ सालपछि पार्टीभित्र उत्पन्न विभाजन र संकटसँग सम्बन्धित रहेको ओलीको दाबी छ। निर्वाचनमार्फत् पार्टीले करिब दुई तिहाइको अवस्थामा पुगेपछि पार्टीभित्र विवाद चर्किएको र अन्ततः आफूहरूको पहल तथा नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
ओलीले अहिले उठाइएको पुनर्गठनको बहस विगतका ती परिस्थितिसँग मेल नखाने बताएका छन्।उनका अनुसार विगतका पुनर्गठन पार्टी र आन्दोलनको अस्तित्व जोगाउन तथा संगठनलाई नयाँ राजनीतिक दिशामा अघि बढाउन चालिएका बाध्यकारी कदम थिए। अहिलेको अवस्थामा त्यस्तो संकट नरहेको उनको दाबी छ। ‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि बिल्कुलै मेल खाँदैन,’ ओलीले प्रतिवेदनमा भनेका छन्। ओलीले पार्टीभित्र उठिरहेका रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणका बहसलाई पनि आफ्नै ढंगले परिभाषित गरेका छन्। उनका अनुसार रूपान्तरण भनेको पार्टीको इतिहास, विचार, संघर्ष, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार गर्नु होइन। बरु कार्यशैली परिवर्तन, जनतासँग संवाद गर्ने भाषा परिवर्तन, निर्णय प्रक्रिया छरितो बनाउने र पार्टी कमिटीलाई जनताको समस्या समाधान गर्ने केन्द्रका रूपमा विकास गर्नु रूपान्तरण हो। उनले नेतृत्वको भूमिकासमेत आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदलिनुपर्ने बताएका छन्।
पार्टी नेतृत्व र पुस्तान्तरणको बहसलाई प्रस्ट्याउन ओलीले रुखको बिम्ब प्रयोग गरेका छन्। ‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो,’ उनले भनेका छन्। उनका अनुसार हस्तान्तरण भनेको नेतृत्व पद तत्काल खाली गर्ने आकस्मिक निर्णय होइन। जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण आवश्यक हुन्छ। त्यस्तै, पुस्तान्तरणलाई केवल उमेरको अंकगणितका रूपमा बुझ्न नहुने उनको धारणा छ। नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णय प्रक्रियामा स्थान दिनुपर्ने उनले बताएका छन्। ‘उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar