|  

सरकार राष्ट्रिय मुद्दामा गम्भीर भएन, संघीयताप्रति प्रतिवद्धता शंकास्पद छः सांसद ढुंगाना

०५ असाेज, काठमाडाैं । राष्ट्रिय सभाका सदस्य एवं नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ । 

सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारले संसदलाई जानकारी नदिई एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको हो । सांसद ढुंगानाले भोटेकोशी बाढीपछि सर्वदलीय बैठक आह्वान गर्ने प्रतिवद्धता पूरा गर्न सरकार चुकेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले प्रधानमन्त्रीले प्रतिनिधि सभामा जवाफ दिए पनि राष्ट्रिय सभालाई उपेक्षा गरेको आरोप लगाउनु भयो । उहाँले सामाजिक र प्रशासनिक क्षेत्रमा सरकारले गरेको दुई दिन सार्वजनिक बिदाको निर्णय अव्यावहारिक भएको तर्क गर्नुभयो । निजामती कर्मचारीको उमेर हद र समायोजनको विषयमा सरकारको हचुवा निर्णयले प्रशासनिक संयन्त्रमा अस्थिरता निम्त्याएको बताउनु भयो । सांसद ढुंगानाले भन्नुभयो, ’संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार आफ्नै निर्णय कार्यान्वयन गर्नबाट पन्छिरहेको छ । संसदीय समिति गठन गर्ने प्रतिवद्धता अझै पूरा भएको छैन । गरिब मुलुकको संरचना अनुसार सातामा दुई दिन बिदा दिँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिकूल असर परेको छ । संघीयता खारेजीको प्रश्ताव राख्नेहरू नै अहिले सत्तामा छन्, यसले देशको संघीय संरचनामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।’

ढुंगानाले वर्तमान सरकारको संघीयताप्रतिको प्रतिवद्धतामा समेत प्रश्न उठाउनु भयो । । उहाँले सरकारलाई अहंकार त्यागेर प्रतिपक्षको अनुभव र रायलाई सम्मान गर्न आग्रह गर्दै संसदीय मर्यादा कायम राख्न ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल