|  

कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी ग्यास अभावको मुख्य कारणः सरकार

०५ असाेज, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको अभावको समस्याबारे सरकारले आपूर्ति प्रणालीसँग जोडिएका बहुआयामिक कारणबारे विश्लेषण गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् । उनले बजारमा ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको पनि बताए । उनले ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी पनि गरे । ग्यास अभावको समस्याको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उनले जानकारी दिए ।

उक्त विश्लेषणले ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव रहेको देखाएको मन्त्री साहको भनाइ छ ।उनकाअनुसार ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएका छन् । यी विद्यमान कारणका कारण माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको उनले बताए । उनले ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमीले समेत ग्यास आपूर्ति व्यवस्थापनमा बताए । उनले भने, ‘आम नागरिकले एलपी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहेको कठिनाईप्रति सरकार निकै गम्भीर छ । र सरकार ग्याससहितको समस्या समाधान निरन्तर लागिरहेको छ । समस्याहरुको मुल कारणहरु पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको एक उपकरण फिसबोन डायग्राम सञ्चालनमा ल्याएको छ । यस उपकरणले ग्यास अभावको समस्यालाई कुनै एउटा कारण वा एउटा निकायको कमजोरीको रुपमा नभई आपूर्ती, पूर्वाधार आर्थिक, नीतिगत, तथा कानून, वितरण प्रणाली तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षहरुको जोडिएको संयुक्त कारणहरुको रुपमा देखाएको छ । विभिन्न कारक तत्वमध्ये आयात निरभर्ता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण रिफिलिङ, डिलर सेवा केन्द्रको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाई र सो का कारण माग र आपूर्तिमा असन्तुलन भएको देखिएको छ । कालोबजारी, डिजिटल ट्र्याकिङ नहुनु र अन्तरनिकाय समन्वयको अभावका कारण बढी जिम्मेवार देखिन्छन् । टेक्नोइकोनिमिक इन्जिनियरको रुपमा मैले यो संकटलाई कति सिलिन्डर आयो भन्ने प्रश्नमा मात्र सिमित राखेको छैन । लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय रिफिलङ क्षमाता, वितरणको भौगोलिक असन्तुलन, मूल्य, सुरक्षालाई पनि आपूर्तिको सूचकका रुपमा हेरिएको छ ।’

उनले ग्यास आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाउन सबै शक्ति परिचालन गरिरहेको पनि बताए ।–न्युज एजेन्सी नेपाल