|  

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

०५ असाेज, काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेको विचौलियाको अस्वाभाविक हस्तक्षेप हटाउन सरकारले विशेष पहल थालेको बताएका छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा उनले यसबारे जानकारी गराएका हुन् । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने समस्या समाधानका लागि सरकारले आपूर्ति श्रृंखला सुधार कार्यदल गठन गरी अध्ययन अगाडि बढाएको बताए । सांसद रुक्मिणी कोईरालाले किसानले खेतमै टमाटरको उचित मूल्य नपाउने तर उपभोक्तासम्म आइपुग्दा भाउ तेब्बर हुने अवस्थाबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री चौधरीले बिचौलियाका कारण कृषि उपजको आपूर्ति श्रृंखलामा हाल ५ तहसम्मको मध्यस्थता रहेको पाइएको र त्यसलाई घटाएर २ वा ३ तहमा सिमित गर्ने सरकारको लक्ष्य रहेको प्रस्ट पारे । मन्त्री चौधरीकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयको समन्वयमा गठित कार्यदलले १२ वटा प्रमुख कृषि बजारबाट स्थलगत तथ्यांक संकलन गरिरहेको छ ।
उनले भने,‘आपूर्ति श्रृंखलामा सुधार गर्दा किसानले पाउने मूल्यमा वृद्धि हुने र बजार व्यवस्थापन थप सहज हुनेछ ।’ मन्त्री चौधरीले डिजिटल प्रविधिको प्रयोगमार्फत बजार मूल्य पारदर्शी बनाउन मन्त्रालयले मोबाइल एप र वेबसाइटको व्यवस्था गरेको उनले जानकारी दिए । यसले कृषक र उपभोक्तालाई दैनिक बजार मूल्यबारे अद्यावधिक सूचना प्राप्त गर्न मद्दत गर्नेछ ।

साथै, आयातित तरकारीको स्वच्छता परीक्षणका लागि संघीय बजारहरूमा ‘विषादी अवशेष द्रुत विश्लेषण’ प्रविधि लागू गरिएको पनि मन्त्रालयले जनाएको छ । पूरक प्रश्नमा सांसद कोईरालाले लागत मूल्यका आधारमा समर्थन मूल्य घोषणाबारे चासो राख्नुभएको थियो । जवाफमा मन्त्री चौधरीले धान, गहुँ र मकैजस्ता मुख्य बालीहरूमा बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने गरिएको र अन्य बालीको हकमा पनि अध्ययन भइरहेको स्पष्ट पारे। उनले बजारमा मूल्य अस्थिर हुने समयमा मन्त्रालयको सूचना विभागमार्फत पूर्वसूचना प्रवाह गरिने गरेको पनि जानकारी दिए ।