|  

‘कबड्डी ५’ को टिजर सार्वजनिक, एआईसँग जोडिँदै बिके

०६ असाेज, काठमाडाैं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को टिजर सार्वजनिक गरिएको छ।

टिजर सार्वजनिक भएसँगै फिल्मको कथावस्तु र पात्रलाई लिएर दर्शकमाझ चासो बढेको छ। करिब एक मिनेट आसपासको टिजरमा फिल्मका प्रमुख पात्र बिके अर्थात् विजय बराललाई केन्द्रमा राखिएको छ। उनको एआईसँगको कनेक्सनलाई हास्यरस र कौतुहल मिसिएको शैलीमा प्रस्तुत गरिएको छ।टिजरमा दयाहाङ राईको काजी पात्र र सिर्जना गुरुङले निर्वाह गरेको मैयाको प्रवेशलाई पनि आकर्षक ढंगले देखाइएको छ। त्यसपछि विपिन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ। विशेषगरी उनको संवाद प्रस्तुत गर्ने शैलीले दर्शकको ध्यान तान्ने देखिन्छ। अन्त्यमा रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंगिन्छ।

टिजर हेर्दा ‘कबड्डी ४’ जहाँ टुंगिएको थियो, त्यहीँबाट पाँचौँ शृङ्खलाको कथा अघि बढाइएको संकेत मिल्छ। निर्देशक रामबाबु गुरुङले पनि नयाँ फिल्ममा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर वाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ। ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ भने सागर राज कार्यकारी निर्माता छन्। फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

फिल्म बडा दसैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फिल्म्सले गर्नेछ भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।