|  

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

०७ असाेज,काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहको संयुक्त राष्ट्रसंघको महासभामा भएको भ्रमणलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।

भ्रमणअघि संसदमा सम्बोधन गर्नुपर्ने र सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाउनुभएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएकाले यसमा व्यापक गृहकार्य आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयमा टिप्पणी गर्दै दुलालले यदि यो त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा गरिएको हो भने यसलाई स्वाभाविक रूपमा लिन सकिने बताउनु भयो । यद्यपि, राष्ट्रिय पहिचानका लागि यस्ता प्रोटोकलहरू परम्परागत र महत्वपूर्ण हुने उहाँको भनाइ छ । साथै, विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या कटौती भएको विषयलाई उहाँले सकारात्मक रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो ।’

दुलालले अन्तर्राष्ट्रिय कुटनीतिक वृत्तमा हुने ‘साइडलाइन’ वार्ताहरूको महत्वमाथि पनि जोड दिनुभयो । नेपालको विकास साझेदार मुलुकहरूसँग द्विपक्षीय वार्ता नहुनु कुटनीतिक रूपमा कमजोरी हुन सक्ने उहाँले औंल्याउनु भयो । प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको प्राकृतिक विपत्ति र ‘क्लाइमेट जस्टिस’ को मुद्दालाई राष्ट्रसंघीय मञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल