|  

राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण

०८ असाेज, काठमाडाैं । सांसदहरूले कर्मचारी नियुक्तिमा भइरहेको आर्थिक चलखेल, कुटनीतिक नियोगमा विवादित नियुक्ति र बजारको चरम मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रिय सभाको बिहीवारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको खडेरी परेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद जगतबहादुर पार्कीले कर्मचारी नियुक्ति र सरुवामा विचौलियाको सेटिङ रहेको भन्दै गम्भीर छानबिनको माग गरे । उनले मन्त्रीहरूकै नाम जोडेर सार्वजनिक भएको एक अडियो संवादले प्रशासनमा मौलाएको भ्रष्टाचारलाई उजागर गरेको जिकिर गरे ।

कुटनीतिक मर्यादा र सुशासनका विषयमा सांसद मदनकुमारी शाहले गम्भीर प्रश्न उठाए । उनले स्थायी बसोवास (पीआर) लिएका व्यक्तिलाई राजदुत नियुक्त गर्नु राष्ट्रिय हितविपरित हुने भन्दै जापानका लागि नियुक्त राजदुतको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरे । सांसद युवराज शर्माले वर्तमान सरकार पूर्णतः असफल भएको टिप्पणी गर्दै राज्यका हरेक संयन्त्रमा कोहराम मच्चिएको दाबी गर्नुभयो । सांसद भूवनबहादुर सुनारले सरकारको आलोचना गर्नेमाथि दमन गरिएको भन्दै अधिनायकवादी बाटो नछोड्न चेतावनी दिए ।

प्राकृतिक विपद् र सुरक्षाका विषयमा पनि सांसदहरूले जोडदार आवाज उठाए । सांसद तुलप्रसाद विश्वकर्मा र मदनकुमारी साहले भोटेकोशी बाढीपीडितको राहत र संसदीय अनुगमन टोलीमा राष्ट्रिय सभाको प्रतिनिधित्व हुनुपर्ने माग राखे । सांसद नरबहादुर विष्टले सुर्खेतको चौकुनेमा सर्पदंशका कारण भइरहेको मृत्यु रोक्न तत्काल औषधिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । कीर्तिपुरको गाडी आगजनी प्रकरण र सुरक्षाकर्मीको कार्यशैलीबारे पनि सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रश्न उठाए ।

सांसद सुरेशकुमार आले मगरले जलवायु परिवर्तनको संकट टार्न आदिवासीहरूको ज्ञान र सीपलाई उपयोग गर्नुपर्नेमा जोड दिए । सांसद सुङ्गेल्जेन शेर्पाले चाडपर्वको मुखमा भइरहेको कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तथा बाढीपहिरोको उच्च जोखिममा सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए ।– न्युज एजेन्सी नेपाल