|  

भ्रष्टाचार र प्रधानमन्त्रीको कुटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

०८ असाेज, काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाउँदै देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको विदेश भ्रमणको कुटनीतिक शैलीप्रति आपत्ति जनाएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले कारागार र निकुञ्ज प्रशासनमा भइरहेको भनिएको आर्थिक लेनदेनको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । सांसद विष्टले कारागार विभागका कैदीहरूसँग प्रतिव्यक्ति एक करोड र निकुञ्जका वार्डन सरुवामा २५ लाख रुपैयाँसम्मको घुस लेनदेन भएको सार्वजनिक अडियो–भिडियो प्रकरणमा ध्यानाकर्षण गराए । उनले यसलाई सुशासनको नारा दिने सरकारको विडम्बनापूर्ण अवस्थाको संज्ञा दिँदै मुख्य योजनाकारहरूमाथि कडा कारबाही हुनुपर्ने माग राखे । प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामाथिको भ्रमणबारे टिप्पणी गर्दै विष्टले कुटनीतिक मर्यादामा चुकेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री राष्ट्रको गौरवको प्रतिनिधित्व गर्न जानुभएको हो, कुनै ब्रान्डको प्रचार गर्न होइन । कुटनीतिक भेटघाट र प्रभावकारी संवादको साटो सस्तो प्रचारबाजीमा लाग्नु दुःखद् छ ।’

भोटेकोशी बाढीपीडितको राहत वितरणमा देखिएको सुस्तताप्रति पनि उहाँले आक्रोश व्यक्त गरे । सरकारले १५ अर्ब राहत संकलन गरेको दाबी गरे पनि हालसम्म एक अर्ब रुपैयाँ मात्र परिचालित हुनुले पीडितहरूको घाउमा मलम लाग्न नसकेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल