|  

नेपाललाई अफगानिस्तानले दियो १०३ रनको लक्ष्य 

९ असाेज, काठमाडौं । अफगानिस्तानले २०औं एसियाली खेलकुदको क्रिकेटतर्फ नेपाललाई एक सय ३ रनको सामान्य लक्ष्य दिएको छ।

शुक्रबार आइचीको निशिनस्थित कोरोगी मैदानमा अफगानिस्तानले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २ रन बनायो । कुशल भुर्तेलले चार तथा ललितले तीन विकेट लिएका थिए । भुर्तेलले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिए ।

ललितले चार ओभरमा १३ रनमात्रै दिएका थिए। दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने चार ओभर बलिङ गरेर पनि विकेटविहिन भए । यस्तै, रोहितकुमार पौडेल, करण केसी र कुशल मल्ल पनि विकेट विहिन भएका थिए । अफगानिस्तानका फैसल खान अहमदजाई र नजिबुल्लाह जाद्रनले समान ३० रन बनाएका थिए । नांगेयालिया खानले १७ रन बनाएर अविजित रहे ।

यसअघि ओपनर हसन इसाखिललाई ललितले डक आउट गराए। ललितले नै अर्का ओपनर मोहमद अक्रमलाई लोकेश बमबाट २ रन बनाउँदा क्याच गराएका थिए । तेस्रो नम्बरमा आएका करिम जानतलाई पनि ९ रन बनाउँदा ललितले नै आउट गराएपछि अफगानिस्तान दबाबमा आएको थियो ।

छैटौ बलमै विकेट गुमाएको अफगानिस्तानले ४.१ ओभरमा १६ रन जोड्दा तीन विकेट गुमायो । कप्तान डार्विस रोसुलीलाई भुर्तेलले डक आउट गराए ।