|  

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

१० असोज, काठमाडौं ।  ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनायो।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा ५ चौका र ३ छक्कासहित अविजित ५७ रन बनाए। यस्तै लोकेश बमले २२ बलमा ६ छक्का र १ चौकाको मद्दतले अविजित ५२ रन जोडे।

ओपनर आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेल ४, कुशल मल्ल २ र गुलसन झा २ रनमा आउट भए।

सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाँचौँ अर्धशतक पूरा गर्दै ६ सय रन पनि पूरा गरेका छन्। लोकेशको भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक हो।