|  

नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्यो, २ सयभन्दा बढी घर डुबानमा

१० असोज, काठमाडौं । लगातारको वर्षासँगै नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्तीमा पसेपछि २ सयभन्दा बढी घर डुबानमा परेका छन्।

शुक्रबार थारू बस्ती मात्र जलमग्न भए पनि नदीको सतह लगातार बढ्दै जाँदा सिंगो सुस्ता बस्ती नै डुबानमा परेको हो।

स्थानीय मन्सी कुमारका अनुसार बाढीबाट सयौँ घरपरिवार प्रभावित भएका छन्। सुस्ता क्षेत्रमा हरेक वर्ष नारायणी नदीको कटान र डुबानका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्। नदीको बहाव अझै बढ्दो रहेकाले बस्तीमा थप जोखिम बढेको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै सुस्ताका करिब ४ सय स्थानीयलाई सुरक्षित स्थानमा सारेर विपद् व्यवस्थापनको सेल्टरमा राखिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। उद्धार तथा राहतका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

नदीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।