|  

पहिरो र बाढीका कारण ११ सडकखण्ड प्रभावित

१० असोज, काठमाडौं । निरन्तरको वर्षा, पहिरो र खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

सडक विभागका अनुसार शनिबार बिहान ९ः३० बजेसम्म ११ वटा प्रमुख सडकखण्डमा यातायात अवरुद्ध वा प्रभावित भएको छ।

पृथ्वी राजमार्गका कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङमा यातायात बन्द छ। बीपी राजमार्गका माङ्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडामा पहिरो तथा डाइभर्सन बग्दा सडक अवरुद्ध भएको छ।

कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर, राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुवाङ–चन्द्रौटा–लिवाङ सडकमा पनि पहिरो, सडक भासिने र खोलाको बहाव बढेका कारण यातायात प्रभावित भएको विभागले जनाएको छ।

अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा एक्स्काभेटर, लोडर तथा अन्य मेसिन परिचालन गरी पहिरो र ढुंगा हटाउने काम भइरहेको छ।

सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ।