|  

इरानको शान्ति प्रस्ताव ट्रम्पले अस्वीकार गरेको खुलासा

१० असोज, काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गरेको द वाल स्ट्रीट जर्नलले जनाएको छ ।

इरान भने अमेरिकाको औपचारिक जवाफको प्रतीक्षामा रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा इरानले आफ्नो शान्ति प्रस्ताव सार्वजनिक गरेको थियो । इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार कतारका मध्यस्थमार्फत प्रस्ताव अमेरिका समक्ष पठाइएको थियो ।

प्रस्ताव स्वीकार भएमा सात दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र क्षेत्रीय युद्धविरामतर्फ जाने व्यवस्था गरिएको छ ।अराघ्चीले शुक्रबार संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी पक्ष सम्झौता गर्न र स्ट्रेट अफ होर्मुज खोल्न गम्भीर भए आवश्यक तयारी पूरा भइसकेको बताएका थिए ।

उनका अनुसार त्यसपछि दुवै पक्षले आपसी सहमतिका विषयमा थप वार्ताअघि बढाउन सक्नेछन् ।तर द वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार ट्रम्पले इरानले आफ्ना माग पूरा गर्नेमा निजी रूपमा आशङ्का व्यक्त गरेका छन् । उनले आफ्ना कर्मचारीहरूसँग इरानमाथि पुनः बमबारी हुन सक्ने संकेत समेत दिएको रिपोर्टमा उल्लेख छ ।