|  

कालीगण्डकीको बाढीले पर्वतको फर्से बस्तीमा वितण्डा, ८० घर बगायो

११ असाेज, काठमाडाैं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले बस्तीका ८० घर बगाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि नै बाढी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए। बाढीले अन्य घरसमेत उच्च जोखिममा पारेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।घरहरू जोखिममा रहेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन भएको थियो। टोलीले स्थानीय बासिन्दासहित उनीहरूका सरसामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ।

घटनामा मानवीय क्षति भए-नभएकोबारे अहिलेसम्म विवरण प्राप्त भएको छैन। बाढीका कारण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या देखिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।