|  

तिनाउको बाढीले बुटवलमा पाँच घर बगायो, विस्थापित परिवार होल्डिङ सेन्टरमा

११ असाेज, काठमाडाैं । दुई दिनदेखि परेको अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा पाँच घर बगाएको छ।

बुटवल उपमहानगरपालिका-११ मजुवास्थित नदी किनारका जस्तापाताले छाएका घर बाढीले पूर्ण रूपमा बगाएको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढीले स्थानीय सखिल मियाँ, दुर्गादेव बानियाँ, बफारदिन मियाँ, राजेन्द्र दर्जी र अब्दुल अलीका घर पूर्ण रूपमा बगाएको छ। घर बगाएपछि विस्थापित भएका परिवारलाई बुटवल उपमहानगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरेका होल्डिङ सेन्टरमा राखिएको छ।

लगातारको वर्षासँगै तिनाउ नदीमा पानीको बहाव बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले समेत नदीमा बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। मजुवा, बुद्धनगरलगायत तिनाउ नदी आसपासका बस्तीमा बर्सेनि नदी कटानको समस्या देखिँदै आएको छ। पछिल्लो बाढीले कटान गरेका अन्य बस्तीसमेत जोखिममा परेका छन्।