|  

चोलेन्द्र जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग्दै कांग्रेस

११ असाेज,काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीबारे सरकारसँग आधिकारिक धारणा माग गरेको छ।

साथै, पक्राउको कानुनी आधार र औचित्य सार्वजनिक गर्न पनि कांग्रेसले आग्रह गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सरकारी अधिकारीहरूबाटै गिरफ्तारीबारे परस्पर विरोधी धारणा सार्वजनिक हुनु चिन्ताजनक रहेको बताएका छन्। गिरफ्तारी कानुनसम्मत र आवश्यक भए सरकारले त्यसको स्पष्ट आधार दिनुपर्ने कांग्रेसको भनाइ छ। कांग्रेसले अनुसन्धान र कानुन कार्यान्वयनको विरोध नगरेको स्पष्ट पार्दै गिरफ्तारी आफैँमा दोषको प्रमाण नभएको जनाएको छ। कसैले कानुन उल्लंघन गरेको भए निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा कारबाही हुनुपर्ने तर राज्यका सबै निकाय संविधान र कानुनको सीमाभित्र रहनुपर्ने कांग्रेसको धारणा छ।

विशेष सुरक्षा चुनौती वा अन्य असाधारण परिस्थितिका कारण पक्राउ गरिएको हो भने त्यसको विश्वसनीय आधार सरकारले सार्वजनिक गर्नुपर्ने पनि कांग्रेसले माग गरेको छ।