|  

चोलेन्द्र जबराको गिरफ्तारीप्रति योगेश भट्टराईको आपत्ति, भने-गैरकानुनी र गैरन्यायिक

११ असाेज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

उनले सरकारको कदमलाई गैरकानुनी र गैरन्यायिक भन्दै तत्काल रोक्न चेतावनी दिएका हुन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले कुनै सुरक्षा चुनौती भए राज्यले सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन्। तर, सुरक्षाको बहानामा मध्यरातमा गरिएको गिरफ्तारीलाई उचित मान्न नसकिने उनको भनाइ छ। ‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्व हो, तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाजीबाट पनि उचित मान्न सकिँदैन,’ उनले लेखेका छन्।

भट्टराईले सरकारलाई यस्ता स्वेच्छाचारी कदमबाट पछि हट्न आग्रह गर्दै जबराको गिरफ्तारीको कडा विरोध गरेका छन्।