|  

बाढीपहिरोले विद्युत् प्रणालीमा असर, आपूर्ति सहज बनाउन प्राधिकरणको तयारी

११ असाेज, काठमाडाैं । अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले आपूर्ति नियमित राख्न र अवरुद्ध सेवा छिटो पुनःस्थापना गर्न जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखेको छ।

प्राधिकरणका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा ठूलो अवरोध देखिएको छ। विभिन्न प्रसारण लाइन, उत्पादन केन्द्र र लोडमा आएको समस्याले करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् प्रणाली प्रभावित भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आइतबार सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुई डिभिजन कार्यालय प्रमुखसँग भर्चुअल छलफल गरी क्षति र आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन्। उनले प्रभावित क्षेत्रमा वैकल्पिक लाइन तथा फिडरमार्फत सम्भव भएसम्म विद्युत् सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको सुरक्षित मर्मत तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

प्राधिकरणले अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप प्राविधिक टोली, उपकरण र सामग्री परिचालन गर्ने जनाएको छ। मर्मत तथा पुनर्स्थापनाका क्रममा कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्न पनि निर्देशन दिइएको छ।