|  

विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

११ असाेज, काठमाडाैं । जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आईतवार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिँदो मौसमअनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए । जलयायु विज्ञ दाहालले उनले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनोट गरी ठूला पर्यटन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

मनसुनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको पुनःपरिकल्पना गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले क्लाउडबस्र्ट, अत्यधिक वर्षा तथा नदीमा आउने बाढीजस्ता स्थानीय मौसमी घटनाको पूर्वानुमान र पूर्वतयारीलाई प्रभावकारी बनाउनुको विकल्प नरहेको पनि बताए । हिमालबाट बग्ने नदीका किनारमा रहेका बस्ती तथा पर्यटकीय क्षेत्रसमेत जोखिममा पर्नसक्ने भएकाले नयाँ सुरक्षा मापदण्ड र जोखिम क्षेत्रको पुनःरेखांकन आवश्यक रहेको उनले बताए ।

परम्परागत पूर्वतयारीले चरम जलवायुजन्य विपद्को सामना गर्न नसक्ने उनको भनाइ छ । उनले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई मध्यपहाड र तराईमा समेत देखिएकाले पर्यटन योजना निर्माण गर्दा सबै भौगोलिक क्षेत्रका जोखिमलाई समेट्नुपर्नेमा उनको जोड छ । उनले भने,‘अब सुरक्षित पर्यटन गन्तव्यहरूलाई परिभाषित गर्दाखेरि दुई वटा कुरामा विचार गर्नुपर्ने छ । एउटा, ठूला पूर्वाधारहरूको विकासका लागि सुरक्षित हुने स्थल खोज्नुपर्यो । जुनसुकै मौसममा समेत सुरक्षित साथ राख्न पाइयोस् । धेरैजसो सुरक्षित यो चार महिनाको बर्खा बाहेक अरू बेला त तिनै ठाउँहरू अति सुन्दर आकर्षक हुन सक्छन् नि । त्यसैले यो एक किसिमको गतिशील सुरक्षाको मापदण्डलाई हामीले अपनाउनुपर्ने हुन्छ । अर्को, मौसम प्रणालीहरू बदलिए पनि त्यसको पूर्वानुमान क्षमताहरू बढिसक्या हुनाले यसलाई हिजोको जस्तो अन्योलमा अहिले अवस्था छैन । त्यसलाई स्थानीय घटनाहरू, त्यो क्लाउडबस्र्टहरू हुन्छ नि कुनै सिमित ठाउँमा एकदमै ठूलो वर्षा हुने, तर वरिपरि धेरै ठाउँमा पानी नपर्ने । त्यस्तो क्षेत्रमा भने पूर्वतयारी गर्नुपर्ने आवश्यकता छ । नेपालको मनसुनको पर्यटनलाई अलिकति पुनःपरिकल्पना गर्नैपर्छ । हामीले भएकै बस्तीहरूलाई पनि कसरी सुरक्षित राख्ने भन्नेकुरामा नयाँ मापदण्ड बनाएर लागू गर्न कोशिस गर्नुपर्छ । नत्रभने परम्परागत तरिकाको सुरक्षाले अब धान्नसक्ने अवस्था छैन । अब नदी किनारमा, समुन्द्र किनारहरूमा चाहीँ पर्यटकीय क्षेत्र विकास भएको छ, त्यो देखेर नेपालका पनि हिमालबाट बगेर आउने नदीको किनारमा बसेका बस्तीहरूलाई निश्चित रूपमा खतरा बढेको छ भन्नलाई हामीले भन्न सक्छौँ । त्यसैले यो स्थायी हाम्रो सुरक्षाको नयाँ मापदण्ड, नयाँ रेखांकन नगरी हुँदैन ।’

जलवायुसम्बन्धी उपलब्ध सूचना, ज्ञान र वैज्ञानिक पूर्वानुमान क्षमताको उपयोग गरी पर्यटन क्षेत्रलाई सुरक्षित बनाउनतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।