|  

पक्राउ परेका चोलेन्द्रशमशेर जबरा परिवारको जिम्मामा

११ असाेज,काठमाडाैं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्। यसअघि कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाइएको बताएका थिए। तर उक्त ठाउँ कहाँ हो भन्ने खुलाइएको थिएन। खड्काका अनुसार सुरक्षा जोखिमका कारण जबरालाई रातारात कार्यालय ल्याइएको थियो। जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न दिएन। करिब ४५ मिनेट गेटमा कुर्दा पनि भेट्न नपाएपछि टोली फर्किएको थियो। सरकारले जबरालाई पक्राउ गर्नुपर्नाको कारण औपचारिक रूपमा खुलाएको छैन भने कानुनका जानकारहरूले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।