|  

बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता

११ असाेज,काठमाडाैं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण असोज ८ यता देशभर १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो २४ घण्टामा मात्रै छ जनाले ज्यान गुमाएका हुन्। बेपत्ता हुनेमा पाल्पाका एक, बागलुङका चार र म्याग्दीका दुई जना छन्। मौसम पूर्वानुमानका आधारमा जोखिम क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर पूर्वतयारी तथा उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्यटक र पदयात्रीका लागि छुट्टै सूचना जारी गरिएको छ। जोखिम व्यवस्थापनका लागि ७७ वटै जिल्लाका प्रशासन, प्रहरी, स्थानीय तह र विपद् प्रतिकार्यमा संलग्न निकायसँग निरन्तर समन्वय भइरहेको महतले बताइन्।