|  

चोलेन्द्रशमशेर जबराको सुरक्षा मागसम्बन्धी पत्र प्रहरीमा प्राप्त भएको पुष्टि

१२ असाेज,काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको जिउज्यानको सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिएको पत्र सार्वजनिक भएको छ ।

सुरुमा पत्र प्राप्त नभएको बताएको प्रहरीले पछि निवेदन प्राप्त भएको पुष्टि गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाले आइतबार बिदाकै दिन निवेदन प्राप्त भएको र सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । जबराका छोरा सचिन्द्रशमशेर जबराले प्रहरी कार्यालयलाई सम्बोधन गर्दै निवास तथा परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन् । निवेदनमा पछिल्लो समयको देशको अवस्था र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयले परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको उल्लेख छ ।

यसअघि नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा जोखिमको सूचना प्राप्त भएको भन्दै शनिबार मध्यराति जबरालाई नियन्त्रणमा लिएको थियो । आइतबार अपराह्न उनलाई रिहा गरिएको थियो । रिहा भएकै दिन सुरक्षा मागसम्बन्धी निवेदन प्रहरीमा पुगेको डीआईजी थपलियाले बताएका छन् ।