|  

खोला किनारका बस्ती व्यवस्थापन गर्नुपर्ने रास्वपाका मुख्य सचेतक बुर्लाकोटीको भनाइ

१२ असाेज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले बाढीको जोखिम न्यूनीकरण गर्न खोला किनारमा रहेका बस्तीको समयमै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भोटेकोशीमा भदौ १० र असोज १० तथा ११ गते आएको बाढीले नदी किनारका बस्तीको जोखिमबारे सबैलाई सचेत गराएको बताए । खोला किनारका बस्ती हटाउने सरकारको कदमको विगतमा आलोचना भए पनि पछिल्ला बाढीका घटनाले त्यस्ता बस्ती व्यवस्थापनको आवश्यकता देखाएको उनको भनाइ थियो । बस्ती हटाउने क्रममा व्यवस्थापनमा केही कमजोरी भएको हुन सक्ने स्वीकार्दै उनले त्यसलाई सुधार्नुपर्ने बताए । बुर्लाकोटीले अझै धेरै नदी किनारमा बस्ती रहेकाले समयमै व्यवस्थापन गर्न नसके ठूलो जोखिम निम्तिन सक्ने चेतावनी दिए । उनले बाढीको जोखिमसँगै पुल निर्माणको अवस्थाबारे पनि पुनर्मूल्यांकन गर्नुपर्ने बताए ।

उनका अनुसार कमिसनको प्रभावमा पुलहरू आवश्यकताभन्दा तल निर्माण गरिएको हुन सक्ने भन्दै पूर्वाधार निर्माणका कामको समीक्षा गरेर अघि बढ्न आवश्यक छ ।