|  

राष्ट्रसंघको सम्बोधन र बाढीपूर्व सतर्कताको प्रशंसा गर्दै धितालले दिइन् सरकारलाई धन्यवाद

१२ असाेज,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको दुई कामको प्रशंसा गरेकी छन् ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको आवाज उठाएको र पछिल्लो बाढीपहिरोमा पूर्वसतर्कता अपनाएको भन्दै सरकारलाई धन्यवाद दिएकी हुन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले प्रधानमन्त्री शाहको राष्ट्रसंघीय सम्बोधनले विश्वमञ्चमा नेपालको गरिमा बढाएको बताइन् । ठूला शक्तिराष्ट्रहरू युद्ध र प्रतिस्पर्धामा केन्द्रित भइरहेका बेला साना राष्ट्रका न्यायोचित आवाज सुनिनुपर्ने विषय उठाउनु महत्त्वपूर्ण भएको उनको भनाइ थियो । ‘विश्वसामु नेपालको गरिमा अझ बढाइदिनुभएकोमा प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू र नेपाली प्रतिनिधिमण्डललाई धन्यवाद,’ उनले भनिन् ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालमा जलवायु परिवर्तनले पारेको असर, भोटेकोशी बाढीपहिरोको क्षति, पर्वतीय मुलुकका चुनौती र जलवायु न्यायको विषय उठाएका थिए । महासभामा सहभागी भएर असोज १० गते स्वदेश फर्किएका शाहले न्युयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका थिए । धितालले सरकारको अर्को प्रशंसनीय कामका रूपमा पछिल्लो बाढीपहिरोअघि अपनाइएको सावधानीलाई उल्लेख गरिन् । बाढीले बस्ती डुबानमा पारे पनि समयमै सूचना प्रवाह र पूर्वसतर्कताका कारण सम्भावित जनधनको क्षति कम गर्न सहयोग पुगेको उनको भनाइ थियो । ‘बाढीले गाउँ नै बगाएको छ, डुबाएको छ । तर धनजनको सकभर क्षति हुन नदिन सरकारी प्रशासनले समयमै अपनाएको सावधानीका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

विगतका बाढीमा ठूलो संख्यामा मानवीय क्षति र बेपत्ताका घटना हुने गरेको उल्लेख गर्दै उनले यसपटकको पूर्वसूचना र सावधानीका लागि सरकार, सुरक्षाकर्मी तथा सरकारी कर्मचारीप्रति आभार व्यक्त गरिन् ।