|  

सरकार निरङ्कुशतातिर ढल्कियो, पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीको जवाफ दिनुपर्छः सांसद ढुंगाना

१२ असाेज, काठमाडाैं । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाएका हुन् । सांसद ढुंगानाले कानूनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र अन्य समसामयिक घटनाहरूको सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे । बाढीपीडितको अवस्था र पछिल्ला प्राकृतिक विपद्का घटनाहरूबारे पनि सरकार मौन रहेको भन्दै उनले जिरो आवरमा बोलेका कुराहरूको सुनुवाइ नभएको गुनासो गरे । सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने हुकुमी शासन लाद्न खोजेको ढुंगानाको जिकिर छ । उनले भने,‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर विना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ । दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ । जुनसुकै घटनामा सरकारले संसदलाई जानकारी दिनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन ।’ 

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिन पनि तयार रहेको चेतावनी दिँदै सरकारलाई सच्चिन आग्रह गरे । यदि सरकार निरङ्कुशतातर्फ नै अघि बढिरहने हो भने त्यसले देशलाई गम्भीर दुर्घटनातर्फ धकेल्ने उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल