|  

जबरा पक्राउ प्रकरण : एसएसपी खड्कालाई मानव अधिकार आयोगले बोलायो

१२ असाेज, काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबरा पक्राउ परेको घटनाबारे अनुगमन गर्न नपाएको विषयमा छलफल गर्न खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन भनिएको हो । प्रहरी प्रधान कार्यालयमार्फत उनलाई बोलाइएको आयोगले जनाएको छ । आइतबार जबरा पक्राउ परेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित प्रहरी कार्यालय पुगेको थियो । तर, प्रहरीले करिब एक घण्टा कुराएर टोलीलाई गेटबाटै फर्काएको थियो । त्यसपछि आयोगले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएको थियो ।