|  

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

१३ असाेज,काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ।

मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको हो। सोमबार पनि नेप्से १६.४७ अंकले घटेको थियो। बजारमा गिरावटसँगै कारोबार रकमसमेत घटेको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३६३ वटा स्क्रिप्सको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढ्दा १९९ वटाको घटेको छ भने १० वटा कम्पनीको मूल्य स्थिर रह्यो। ननलाइफ इन्स्योरेन्स र अन्य समूहबाहेक अधिकांश उपसूचक घटेका छन्।

बढ्नेमा आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को मूल्य ९.१७ प्रतिशतले उकालो लागेको छ। सयपत्री हाइड्रोपावर ६.७९ प्रतिशत, नेपाल एसबीआई बैंक डिबेन्चर २०९० ६.४२ प्रतिशत र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज ६.२९ प्रतिशतले बढेका छन्। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी २२ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित अगाडि रह्यो। शिवम् सिमेन्टको करिब १७ करोड, सिद्धार्थ बैंकको १६ करोड र गरिमा विकास बैंकको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।