|  

सरकारले चमत्कारको सपना देखायो, परिणाममा सास्ती मात्रैः प्रमुख सचेतक दुलाल

१३ असाेज, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सिमित भएको टिप्पणी गरेका छन् ।

मंगलवार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप लगाएका हुन् । प्रमुख सचेतक दुलालले सरकार बनेको समयावधिभन्दा पनि परिणामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदम भनी आलोचना गरे । उनले विगतका काण्डहरू छानबिन गर्न दुई तिहाइको सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न गरे। उनले भने, ‘जनताले विश्वास गरेर सुशासनका लागि मत दिएका थिए, तर आज नागरिकहरू ग्यास, अस्पताल र पासपोर्टका लागि लाइन बस्न बाध्य छन् । कानूनी राज्यमा कसैलाई पक्राउ गर्दा कारणसहितको पुर्जी चाहिन्छ । सरकारका मन्त्री र प्रधानमन्त्रीले जोशको पछि लाग्दा होस गुमाउनु भएन । मध्यरातमा गरिने गिरफ्तारीले गैरकानुनी बाटो समातेको पुष्टि हुन्छ ।’

आफ्नो दलमाथि लाग्ने आरोपको खण्डन गर्दै उनले आफूहरु सुशासनको लडाइँ लडिरहेको बताए । –न्युज एजेन्सी नेपाल