|  

नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने, निलम्बन नखुलेपछि बाटो बन्द

१५ असाेज, काठमाडौं । नेपालले आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा हुने १५ औँ साफ च्याम्पियनसिप गुमाउने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको सेप्टेम्बर ३० सम्मको समयसीमाभित्र अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई गत जुनमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो। निलम्बनका कारण नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सकेको छैन। साफको ३३ वर्षे इतिहासमा नेपालले यसअघिका सबै १४ संस्करणमा सहभागिता जनाएको थियो। नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो भएको छ भने पाँचपटक सेमिफाइनलसम्म पुगेको छ। यसपटक नेपाल नहुँदा प्रतियोगितामा ६ टोली मात्र सहभागी हुनेछन्। समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्स छन्। नेपाल निलम्बन फुकुवा भएको भए समूह ‘ए’ मा रहने थियो।

पूर्वराष्ट्रिय कप्तान तथा प्रशिक्षक उपेन्द्रमान सिंहले साफ खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक अवसर खोज्ने महत्वपूर्ण मञ्च भएकाले नेपाल सहभागी नहुँदा खेलाडीहरू प्रभावित हुने बताए। सरकारले भने अब घरेलु फुटबल गतिविधिलाई अघि बढाउने तयारी थालेको छ। खेलकुदमन्त्री सस्मित पोखरेलले साफका लागि समय घर्किसकेको संकेत गर्दै घरेलु लिग सञ्चालनको तयारी भइरहेको बताएका छन्।

यसैबीच, एन्फा पदाधिकारीमाथि अनुसन्धान अघि बढ्नु र एन्फा नेतृत्व सम्पर्कविहीन हुनुले नेपाली फुटबलको संकट थप जटिल बनेको छ।