|  

मानव-वन्यजन्तु द्वन्द्व न्युनिकरण सरकारको प्राथमिकतामाः मन्त्री चौधरी

१५ असाेज, काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । 

राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणलाई प्राथमिकता दिएर सरकारले विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभएको हो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण तथा व्यवस्थापनका लागि क्षतिपूर्ति, पूर्वसूचना प्रणाली, रोकथामका संरचना, वन्यजन्तु स्थानान्तरण तथा वैकल्पिक बाली प्रवद्र्धनका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।  उहाँकाअनुसार चालु आर्थिक वर्षदेखि मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रमसमेत कार्यान्वयनमा ल्याइएको छ । विश्व वातावरण संयन्त्रको आर्थिक सहयोग तथा विश्व वन्यजन्तु कोषमार्फत बर्दिया, चितवन र पर्सामा कार्यक्रम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा सहअस्तित्वका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरी लागू गर्ने तयारी भइरहेको पनि बताउनु भयो । उहाँले जंगली हात्ती, रातो बाँदर र बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तुका रूपमा घोषणा गरिएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मानव–वन्यजन्तु द्वन्द्वको विषयलाई सबैभन्दा प्राथमिकताको विषय बनाएर अघि बढिरहेका छौँ । नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि क्षतिपूर्ति, पूर्वसूचना प्रणाली, रोकथाम संरचना, नश्लवादी स्थान्तरण र वैकल्पिक बाली प्रवद्र्धन जस्ता विषयहरुलाई कार्यान्वयन गरिरहेका छौँ । त्यसैगरी यही आर्थिक वर्षदेखि मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यसअन्तर्गत नेपाल सरकारले विश्व वातावरण संयन्त्रको आर्थिक सहयोगमा विश्व वन्यजन्तु कोषमार्फत यसै वर्षदेखि बर्दिया, चितवन र पर्सामा कार्यान्वयन शुरु गरेका छौँ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा सहअस्तित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय रणनीति कार्ययोजना तयारी गरी लागू गरिनेछ । जंगली हात्ती, रातो बाँदर र बँदेल  एक वर्षको लागि कृषि हानिकारक वस्तुहरुको रुपमा घोषणा गरिएको छ । यसलाई अगामी वर्षदेखि पनि निरन्तरता दिने र किसानको निजी खेतमा बालीमा क्षति गर्न आएमा धपाउन र लखेट्न सक्ने र सो को क्रममा जनावरको मृत्यु भएपनि वडाका प्रतिनिधिको रहोबरमा गाड्ने गरी नेपाल राजपत्रमा सूचना समेत प्रकाशित गरिएको छ ।’

किसानको निजी खेतमा बाली क्षति गर्न आएमा धपाउन वा लखेट्न सक्ने तथा त्यस क्रममा वन्यजन्तुको मृत्यु भए स्थानीय वडा प्रतिनिधिको रोहबरमा व्यवस्थापन गर्ने व्यवस्था गरिएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल