|  

जनताका समस्या समाधान गर्न अध्यादेश ल्याउन सांसद कार्कीको आग्रह

१६ असाेज, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसदीय प्रक्रियाको ढिलासुस्तीले जनताका समस्या समाधानमा बाधा पुगेको भन्दै अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बर्खे अधिवेशनको अन्तिम दिन शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ सहित देशभरका नागरिकले भोगिरहेका समस्या समाधानका लागि संसदीय प्रक्रियामा सुधार आवश्यक रहेको बताए । कार्कीले मोरङ–३ मा जग्गासम्बन्धी समस्या, विकास निर्माण, बजेट अभाव, पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पतालसँग सम्बन्धित विषयहरू समाधानको प्रतीक्षामा रहेको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित समस्याहरू पनि देशभर रहेको उनको भनाइ थियो । संसद्को नियमित प्रक्रियाबाट स्थानीय समस्यालाई छिटो सम्बोधन गर्न कठिन भइरहेको बताउँदै उनले आवश्यक विषयमा अध्यादेशमार्फत काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । ‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन,’ उनले भने, ‘आशा छ, अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रको समस्याले समाधानको बाटो भेट्नेछ ।’

संघीय संसद्को चालू अधिवेशन २०८३ वैशाख २८ गतेदेखि सुरु भएको थियो । अधिवेशनमा बजेट तथा बजेटसम्बन्धी कानुन निर्माण, अध्यादेश प्रतिस्थापन विधेयक पारित, मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र समसामयिक विषयमा सरकारी धारणा प्रस्तुत गर्नेलगायतका काम भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका छन् ।