|  

प्रतिरक्षा विश्वविद्यालय र फोहोरमैला व्यवस्थापनसहित सात विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

१६ असाेज, काठमाडाैं । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सातवटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ ।

बैठकमा पेश गरिएका प्रश्तावहरूमध्ये एक विधेयक बहुमतले र बाँकी ६ विधेयक सर्वसम्मतिले स्वीकृत भएका हुन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रश्ताव निर्णयार्थ प्रश्तुत गरिएको थियो । सभामुखको अनुमतिमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३’ लाई समितिमा पठाइयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । 

यस्तै, प्रधानमन्त्री तथा रक्षा मन्त्री साहकै तर्फबाट मन्त्री गौतमले पेश गर्नुभएको अर्को ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३’ भने सभाबाट सर्वसम्मतिले स्वीकृत भई सम्बन्धित समितिमा पठाइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रस्तुत गर्नुभएको ‘फोहोरमैला व्यवस्थापन विधेयक २०८३’ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रश्तुत गर्नुभएको ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८३’ पनि सर्वसम्मतिले समितिमा पठाइएका छन् । 
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतका चारवटा विधेयकहरू पनि निर्विरोध रूपमा दफावार छलफलका लागि पठाइएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण (पहिलो संशोधन) विधेयक २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३’ प्रश्तुत गर्नुभएको थियो । ती सबै विधेयकलाई सभाले सर्वसम्मतिले दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको हो । –न्युज एजेन्सी नेपाल