|  

स्रोत नखुलेको एक लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

१७ असोज, काठमाडौं ।  गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि शुक्रबार साँझ संयुक्त चेकिङका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला रामपुर भटहा थाना निवासी २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय रहेका छन्।

भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय र एउटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ। बरामद रकमको स्रोत र उनीहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।