|  

विद्युत् सेवा सुधारमा जोड दिन मन्त्री श्रेष्ठको निर्देशन

१७ असाेज, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।

हेटौंडामा आयोजित छलफल कार्यक्रममा उनले विद्युत् आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, लोड व्यवस्थापन, चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गरे। मौसमका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा ग्राहकलाई समयमै सही सूचना दिन र समस्या तत्काल समाधान गर्न पनि उनले निर्देशन दिए। मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएको भन्दै त्यसअनुसार पूर्वतयारी गर्न र बक्यौता असुलीमा कडाइ गर्नुपर्ने बताए।

हेटौंडा पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख केन्द्र बन्दै गएकाले भविष्यको माग धान्ने गरी संरचनागत तयारी गर्नुपर्ने उनको भनाइ छ।