|  

परराष्ट्रमन्त्री खनाल फिजी र अस्ट्रेलिया भ्रमणमा जाँदै

१७ असाेज, काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल आज राति फिजी र अस्ट्रेलियाको भ्रमणमा जाने भएका छन्।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी जानेछन्। अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असर, जलवायु न्याय र हिमाली राष्ट्रका सरोकारका विषय उठाउनेछन्। त्यसपछि अस्ट्रेलिया पुगेर अक्टोबर ८ मा विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

मन्त्री खनालले अस्ट्रेलियास्थित नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्नेछन्। भ्रमण पूरा गरी उनी अक्टोबर १२ मा नेपाल फर्कनेछन्।