|  

यसवर्षको मनसुन बाहिरिन थाल्यो, आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

१८ असोज, कामठाडौं । नेपालबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ ।

सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीका पश्चिमी थोरै ठाउँबाट मनसुन बाहिरिसकेको छ । मनसुन केही दिनमै पुरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा सामान्यतया जुन १३ तारिख अर्थात जेठको अन्तिमतिर मनसुन भित्रिने र अक्टोबर २ अर्थात असोज मध्यतिर बाहिरिने गर्छ । यसवर्ष भने मनसुनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ । मनसुन बाहिरिने क्रममा रहे पनि छिटपुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी एक / दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।