१८ असोज, कामठाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उडानका क्रममा ककपिटभित्र भएको आतङ्ककारी हमला विफल पारी सयौँ यात्रुको ज्यान जोगाउन सफल भारतीय पाइलट स्मित मच्छरलाई ‘विश्वकै नायक’भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको आगामी स्वतन्त्रता दिवसका अवसरमा विशेष दीप (टर्च) प्रज्वलनका लागि निमन्त्रणा समेत दिएका छन् ।

शनिबार टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छरको साहस र धैर्यताको प्रशंसा गर्दै भने,‘तपाईं भारत र इजरायलका वीर जनताका सच्चा नायक हुनुहुन्छ र सिङ्गो विश्वकै नायक हुनुहुन्छ। म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसको विशेष दीप प्रज्वलन गर्न आमन्त्रण गर्दछु।’

गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा सह–पाइलट हमाम अल–हमामीले ककपिटमै क्याप्टेन मच्छरमाथि धारिलो हतियारले आक्रमण गरी विमान दुर्घटना गराउने प्रयास गरेको बताइएको छ।

गम्भीर घाइते अवस्थामा पनि मच्छरले ककपिटको ढोका खोल्न सफल भएपछि चालक दलका सदस्य र यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।

विमानलाई साउदी अरबको तबुकमा सुरक्षित आपत्कालीन अवतरण गराइँदा विमानमा सवार १७४ जनाकै ज्यान जोगिएको थियो।नेतान्याहूले मच्छरको साहसको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।